बिर्तामोडमा साइबर सुरक्षासम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न - Aajako Khabar

बिर्तामोडमा साइबर सुरक्षासम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न


बिर्तामोड । क्यान झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय बिर्तामोडको सह–आयोजनामा १ दिने साइबर सुरक्षासम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिर्तामोडमा सम्पन्न उक्त कार्यक्रमले बर्तमान समयमा बढ्दै गएका साईबर अपराध यसका चुनौती र समाधानका उपायहरुको बारेमा स्थानीय निकायका प्रतिनिधी, समाजसेवीहरु, सुरक्षा निकायका प्रतिनिधीहरु लगायत सम्पूर्ण समन्धित निकायका प्रतीनीधी एवं अगुवाहरुलाई पछिल्ला दिनहरुमा साइबरसम्बन्धी अपराध बढिरहेको कुरालाई मध्यनजर गर्दै बिर्तामोडमा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

युवा जमातले सूचना प्रविधिको प्रयोग र दुरुपयोग दुबै गरिरहेकाले दुरुपयोग न्यूनीकरण गर्नका लागि सचेतना कार्यक्रम राखिएको क्यान झापाका अध्यक्ष लक्ष्मीकान्त खनालले बताए । क्यान झापाले सन् २०१८ भित्रमा ५० वटा यस्ता कार्यक्रम गर्ने लक्ष्य लिएको छ । ती कार्यक्रमहरुमा फेसबुक, इमेल, इन्टरनेटको सेटिङ, सेक्युरिटी, ह्याकरबाट बच्ने लगायत विषयमा जानकारी दिइनेछ ।

स्थानीय संघसंस्थाका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, शिक्षक, पत्रकार लगायत गरी चार सयभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइराला र क्यानका केन्द्रीय सदस्य डा. अभिजित गुप्ताले सचेतना प्रदान गरेका थिए ।

डिएसपी कोइरालाले फेसबुक प्रयोग गर्ने तरिकाबारे जानकारी गराएका थिए । उनले विद्युत कारोबार ऐन २०६३ र साइबर अपराध गर्दाका सजायबारे प्रष्ट्याएका थिए । कसैले अनाधिकृत रुपमा कम्प्युटर चलाएमा २ लाख रुपैयाँ जरिवाना वा ३ वर्ष कैद वा दुबै सजाय हुन सक्ने उनले जानकारी दिए । गैरकानुनी कुरा प्रकाशन गरेमा १ लाख रुपैयाँ जरिवाना वा ५ वर्ष कैद वा दुबै सजाय हुन सक्ने उनको भनाइ छ । कसैले गोपनीयता भंग गरे १ लाख रुपैयाँ जरिवाना वा २ वर्ष कैद वा दुबै सजाय हुन सक्ने डिएसपी कोइरालाले बताए । साइबरसम्बन्धी अपराध भएको थाहा पाए ३५ दिनभित्र उजुरी गर्न सकिने उनको भनाइ छ ।


Loading...
तपाईको प्रतिक्रिया
अन्य ताजा खबरहरु